काठमाडौं – आज (बुधबार) देखि देशका हिमाली भागमा भारी हिमपातको साथै वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बुधबार बिहान तीनदिने मौसम पुर्वानुमान सार्वजनिक गर्दै साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने बताउँदै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले भनेको छ, ‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ ।’
विभागका अनुसार आगामी शुक्रबारसम्मै यी क्षेत्र हिमपातको चपेटामा परिरहनेछन् । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।




प्रतिक्रिया