वर्षा र हिमपातबाट जोगिन सरकारको छ बुँदे अनुरोध, दुई दिन यात्रा नगर्न आग्रह

वर्षा र हिमपातबाट जोगिन सरकारको छ बुँदे अनुरोध, दुई दिन यात्रा नगर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । मंगलबारदेखि फेरबदल भएको मौसम बुधबार दिउँसो केही खुलेपनि त्यसपछि मोन्था चक्रवातको असर देखिने अनुमान छ ।

मंगलबार सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी प्रदेशको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डु उपत्यकासहित थोरै ठाउँमा हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसबीच राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले छ बुँदे अनुरोधमार्फत सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सकेसम्म बुधबार र बिहीबार यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरिएको छ ।

यस्तो छ अनुरोध
– अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्ने ।

– डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित ठाउँबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।

– प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित ठाउँमा सर्ने । – धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।

– प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यकता अनुसार गाडी आवागमनबारे निर्णय गर्ने । यसको पालना गर्ने, गराउने ।

– तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।

– पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहने ।

मेन्था चक्रवातका कारण प्रभावित हुनसक्ने जिल्लाहरू

कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन् । मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी तथा बागमती प्रदेशका काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली रहेका छन् ।

बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशमा प्रभाव पर्ने अनुमान छ ।

मधेश र कोशी प्रदेशका धेरै तथा बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ । आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यम हिमपातको सम्भावना रहेको छ ।