काठमाण्डु- भारी हिमपातका कारण मुस्ताङको चराङ–लोमान्थाङ सडक अवरुद्ध भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको हो ।
चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा ८ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।

मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए ।
यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए ।

मंगलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।







प्रतिक्रिया