काठमाण्डु– काठमाण्डु– देशका उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित भारी हिमपात भइरहेको छ ।
हिमपातसँगै मौसम प्रतिकूल बनेपछि हिमालमा रहेका आरोहण तथा पदयात्रा टोलीको गतिविधि प्रभावित भएको छ ।
कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा, लाङटाङ, मनास्लु, अन्नपूर्ण र धौलागिरिलगायत हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बुधबारदेखि सुरु भएको हिमपात बिहीबार पनि जारी रहेको र आधार शिविर आसपास दुई फिटभन्दा बढी हिउँ जमेको छ ।
मनास्लु क्षेत्रमा लगातारको हिमपात र हिमपहिरोको जोखिम बढेपछि यस वर्षको आरोहण अभियानसमेत प्रभावित भएको छ । केही प्रमुख आरोहण कम्पनीले अभियान रद्द गरी आफ्ना टोली फिर्ता गरेका छन् ।
मनास्लु आधार शिविर तथा लार्के पास आसपास बाक्लो हिउँ परेकाले पदयात्रासमेत जोखिमपूर्ण बनेको छ । मौसममा सुधार नआएसम्म उच्च क्षेत्रमा थप अघि नबढ्न र सुरक्षित स्थानमा बस्न सम्बन्धित निकायले पदयात्री तथा आरोहण टोलीलाई आग्रह गरेका छन् ।
मनाङमा समेत उच्च हिमाली पदमार्गमा तीन दिनका लागि पदयात्रा रोकिएको छ । जिल्ला प्रशासनले असोज ९ देखि ११ गतेसम्म तिलिचो, थोराङ्ला पास, आइस लेक, काङ्ग्ला पास र भीमथाङलगायत क्षेत्रमा पदयात्रा नगर्न सूचना जारी गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातको क्रम अझै जारी रहन सक्ने देखिएको छ । हिमपातसँगै चिसो बढेकाले उच्च क्षेत्रमा रहेका पर्यटक, आरोही, गाइड तथा स्थानीयलाई मौसमको अवस्था हेरेर मात्रै आवागमन गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया