नेपालमा पहिलो पटक ७ देशका सांसदहरूलाई लिएर ‘हिन्दुकुश हिमालय सांसद’ सम्मेलन हुने

नेपालमा पहिलो पटक ७ देशका सांसदहरूलाई लिएर ‘हिन्दुकुश हिमालय सांसद’ सम्मेलन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ आयोजना हुने जानकारी गराएको छ।

यो सम्मेलन भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाण्डुको सोल्टी होटलमा हुनेछ।

समितिका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सहभागी हुनेछन्। जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधता संरक्षणजस्ता साझा चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा तथा सभामुखको विशिष्ट आतिथ्यतामा सञ्चालन हुनेछ।

संघीय संसदको समितिले सभामुखसँगको परामर्शमा, वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोगको समन्वयमा र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा यो सम्मेलन आयोजना गर्न लागेको हो।

समितिले हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणका कारण गम्भीर संकटमा रहेको बताएको छ। तीव्र सामाजिक–आर्थिक परिवर्तनले मानव जीवन, पारिस्थितिकी प्रणाली र प्राकृतिक स्रोतहरूमा नकारात्मक प्रभाव पारेको समिति बताउँछ।

सम्मेलनको मुख्य उद्देश्य सांसदहरूबीच संवाद, समन्वय र अनुभव साटासाट गरी नीति निर्माण र दिगो विकासका लागि साझा रणनीति तय गर्नु रहेको छ। साथै, क्षेत्रीय सहयोगमार्फत साझा चुनौतीहरूको समाधानका उपाय पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

समितिका अनुसार सम्मेलनमा सांसदहरूसँगै सरकारका उच्च प्रतिनिधि, नीति निर्माताहरू, कूटनीतिज्ञ, विज्ञ र युवाहरू पनि सहभागी हुनेछन्। वातावरणीय र सामाजिक–आर्थिक चुनौतीहरूलाई गहिरो रूपमा पहिचान गर्दै साझा भविष्य निर्माणका लागि छलफल हुने बताइएको छ।

कार्यक्रमबाट प्राप्त निष्कर्षहरू सम्बन्धित मुलुकको जलवायु नीति, कार्बन उत्सर्जन न्यूनीकरण, वातावरणीय योजना र क्षेत्रीय रणनीति निर्माणमा उपयोगी हुने विश्वास गरिएको छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको समितिले जनायो।