लन्डन – बेलायतको डाटफोर्डमा रहेका हिन्दू समुदायले विगत १ दशकदेखि पूरा गर्न नसकेको महत्त्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन् ।
नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरूको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’लाई किनेर नेपालीहरूले मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् ।
सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको भू–भाग र भवन बिक्रीमा ल्याउने चलन छ । डाटफोर्ड स्वतन्त्र आध्यात्मिकतावादी चर्चले सञ्चालन गर्दै आएको चर्च सञ्चालन गर्न नसकिने अवस्थामा पुगेपछि बिक्रीका लागि राखिएको थियो ।
कूल ६ लाख ८५ हजार पाउण्ड मूल्यको चर्च अब मन्दिरको रूपमा विकसित गरिने भएको छ । बेलायतमा बसोबास गरिरहेका पोखराका भरत लामिछानेका अनुसार भवन पहिले क्रिस्चियन धर्मावलम्बीको आस्थाको थलो थियो । अब सोही स्थानमा मन्दिर बनाउने सपना पूरा हुँदैछ ।
उनले भने, ‘कुरा सुन्दा आश्चर्य लाग्ला तर बेलायतमा यस्तो सामान्य हो । चर्च मात्र होइन, अन्य यस्ता भवन पनि सञ्चालन गर्न नसकिएपछि बेचिन्छन् । बेचिएपछि कोहीले घर बनाउँछ, कोहीले अन्य प्रयोजनमा प्रयोग गर्छ । तर हामी हिन्दू समुदाय मिलेर मन्दिर बनाउँदैछौं ।’
लामिछानेका अनुसार आगामी तिहारसम्म मन्दिर खुल्ने र तुरुन्तै लक्ष्मीको मूर्ति स्थापना गरी पूजा गर्ने योजना छ । ‘तत्काल धेरै परिवर्तन नगरे पनि चर्चको क्रस संकेत हटाएर हिन्दू धर्मसँग सम्बन्धित चिह्न जस्तै: ॐ वा अन्य कुनै धार्मिक चिह्न राखेर मन्दिरको रूपमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।
चर्च सन् १९५५ मा शिलान्यास भएको हो । त्यस हिसाबले यो लगभग ७० वर्ष पुरानो हो । हाल प्रयोगमा नरहेको र बिक्रीका लागि राखिएको भवन मन्दिरको प्रयोजनका लागि उपयोग गरिने योजना नेपालीहरूले बनाएका हुन् ।
लामिछानेले महत्त्वाकांक्षी योजनामा स्थानीय नेपालीहरूले खुलेर सहयोग गरेको बताउँदै फण्ड संकलन भइरहेकाले भविष्यमा सो स्थानमा रहेको भवनलाई हटाएर सांस्कृतिक तथा धार्मिक हिसाबले पूर्ण मन्दिर बनाउने योजना रहेको बताए ।
डाटफोर्डमा किराना पसल सञ्चालन गर्दै आएका व्यापारी राजेन्द्र जोशीले चर्चलाई मन्दिर बनाउने कुरा कुनै नौलो नभएको बताए । उनले भने, ‘चर्च पनि भगवानकै स्थान हो, नाम मात्र फरक हो । सन् २०१९ तिर हामीले मन्दिर बनाउने सोच सुरु गरेका थियौं । अहिले यस योजनासँग ५७० जना जोडिएका छन् । भगवानको कृपा भयो भने हामी सफल हुन्छौं । मन्दिर बनेपछि हाम्रो भावी पुस्ता पनि हाम्रो संस्कारसँग नजिक हुनेछन् । उनीहरूले नैतिक शिक्षा पनि प्राप्त गर्नेछन् । देशबाट टाढा भए पनि परम्परासँग नजिक हुने प्रयास गरेका छौं ।’




प्रतिक्रिया