बेलायतमा रोचक संयोग : हिन्दूस्तानी र पाकिस्तानी मूलका गृहमन्त्री र अर्थमन्त्री !

बेलायतमा रोचक संयोग : हिन्दूस्तानी र पाकिस्तानी मूलका गृहमन्त्री र अर्थमन्त्री !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन युनियनबाट बाहिरिने भनेर ‘ब्रेक्जिट’ पक्षमा निर्णय गरिसकेको बेलायतमा त्यो निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारीसहित बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बनेका छन् । टेरेजा मेको राजीनामापछि सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएपछि पूर्व विदेशमन्त्री बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री बनेका हुन् ।

उनी प्रधानमन्त्री बनेपछि आफ्नो मन्त्रिमण्डल समेत गठन गरिरहेका छन् । उनको मन्त्रिमण्डलमा एउटा रोचक संयोग बनेका छ, मन्त्रिमण्डलमा गृहमन्त्री भारतीय मूल र अर्थमन्त्री पाकिस्तानी मूलका व्यक्ति बनेका छन् । दक्षिण एसियामा भारत–पाकिस्तानबीच द्वन्द्व चलिरहने भएपनि बेलायतमा भने दुवै देश पुर्ख्यौली भएका नेताहरूले मिलेर एउटै मन्त्रिमण्डलमा काम गर्नुपर्ने भएको छ ।

हिन्दूस्तानी मूलकी प्रीति पटेल गृहमन्त्री बनेकी छन् भने पाकिस्तानी मूलका साजिद जाविद अर्थमन्त्री बनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई वर्षअघि एक विवादका कारण प्रीति पटेलले गृहमन्त्रीबाट राजीनामा दिएकी थिइन् तर उनले फेरि जिम्मेवारी पाएकी छन् । बोरिसको मन्त्रिमण्डलमा डोनिनीक राब विदेशमन्त्री बनेका छन् ।

प्रीतिको पुर्ख्यौली गुजरात
भारतको गुजरात पुर्ख्यौली भएकी ४७ वर्षीय प्रीतिको जन्म लण्डनमा भएको थियो । उनका आमाबुवा गुजरातबाट युगाण्डा गएका थिए । युगाण्डाबाट उनीहरू सन् १९६० को दशकमा बेलायत आएर बसेका थिए । प्रीति कम उमेरमै कन्जरभेटिभ पार्टीमा आवद्ध भइन्, जतिबेला उनी २० वर्षकी थिइन् । सन् २०१७ मा इजरायलको निजी यात्राको विषयमा विवाद भएपछि प्रीतिले इन्टरनेसनल डेभलपमेन्ट सेक्रेटरीको पदबाट राजीनामा दिनुपरेको थियो । अगस्त २०१७ मा निजी पारिवारिक बिदामा इजरायल गएको बेलाले उनले त्यहाँका प्रधानमन्त्री बेन्यामिन बेतन्याहू लगायत इजरायली अधिकारीसँग भेट गरेकी थिइन् । त्यो भेटबारे बेलायत सरकार र दूतावासलाई जानकारी दिइएको थिएन, जसका कारण उनी विवादमा तानिइन् ।

हिन्दूस्तानी मूलकी प्रीति सरकारसँगै पार्टीमा पनि उदीयमान अवस्थामा छिन् । यसअघि जुन २०१६ मा उनी बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्री बनेकी थिइन् । उनी युरोपियन युनियनको आलोचक मानिन्छिन् । उनी समलिङ्गी विवाह विरोधी समेत मानिन्छिन् । उनी २०१० मा पहिलो पटक सांसद बनेकी थिइन् ।

पाकिस्तानी बस चालकका छोरा अर्थमन्त्री !
पाकिस्तानी मूलका साजिद जाविद अर्थमन्त्री बनेका छन् । सन् २०१८ मा टेरिजा मेको सरकारमा उनी गृहमन्त्री थिए, बेलायतमा उनी पहिलो नस्लीय अल्पसंख्यक समुदायबाट गृहमन्त्री बनेका थिए । उनी २०१० मा सांसद बनेका थिए । उनको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भएको थियो । उनले इभनिङ स्टेन्डर्डसँगको कुराकानीमा आफ्नो परिवारबारे भनेका थिए, ‘मेरा बुवा पाकिस्तानको एउटा सानो गाउँमा थिए र १७ वर्षको उमेरमा काम गर्न बेलायत आएका थिए । बुवा रकडेलमा बसेर कपडाको मिलमा का मगर्न थाले । उहाँ महत्त्वाकांक्षी हुनुहुन्थ्यो, उहाँलाई महसूस भयो कि बस चालकको तलब राम्रो छ, त्यसपछि उहाँ बस चालक बन्नुभयो ।’

बुवाले दिनरात काम गरेर आफ्नो परिचय ‘मिस्टर नाइट एण्ड डे’को रुपमा बनाएको साजिदले बताएका थिए । साजिदले पढाइ बेलायतमै गरेका थिए । साजिदको रुचि बैंक र लगानी क्षेत्रमा थियो, अहिले उनी त्यसैसँग सम्बन्धित अर्थमन्त्री बनेका छन् ।

हिन्दूस्तानी मूलका अर्का मन्त्री !
बोरिसको मन्त्रिमण्डलमा हिन्दूस्तानी मूलका सांसद आलोक शर्माले समेत अन्तर्राष्ट्रिय विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । ५१ वर्षीय आलोकको जन्म भारतको आगरामा भएको थियो । उनी ५ वर्षका हुँदा उनका आमाबुवाले बेलायत लगेर गएका थिए । आलोक आर्टर्ड एकान्टेन्ट हुन्, उनले राजनीतिमा आउनुअघि १६ वर्ष बैंकिङ क्षेत्रमा काम गरेका थिए ।