सरकार अपराधी र काण्डैकाण्ड मालिकको संरक्षकः सांसद गुरुङ

सरकार अपराधी र काण्डैकाण्ड मालिकको संरक्षकः सांसद गुरुङ


काठमाडौं – नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा नल्याइएको भन्दै आक्रोश पोखेकी छन् ।

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएका थिए । बाँकी १२ हजार राजामहाराजाले मारेको उनको तर्क थियो ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद गुरुङले पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने यो सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकहरूको संरक्षक भएको आरोप लगाइन् ।

उनले लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य भएको बताउँदै न्यायको अनुभूति दिलाउनुपर्ने बताइन् । ‘त्यस्तो होइन भने तिनीहरूलाई कारबाही गर्न किन नसकेको ? ठूलालाई चैन, सानालाई ऐन भनेको यही हो ? यो कुन कानुनमा छ ?’, उनले भनिन् ।

चीनमा कोरोना भाइरसबाटएक हजारभन्दा बढीको ज्यान गइसकेको भन्दै आफ्ना नागरिक ल्याउन शनिबारसम्म किन पर्खिएको भन्दै प्रश्न गरेकी छिन् । उनले भनिन्, ‘जनता पीडामा छटपटाइरहेका बेला प्रधानमन्त्री संगीतको सारेगम, बाँसुरी र संगीतमा आनन्दित हुने यही होला नयाँ नेपालको नयाँ समृद्धिको थालनी !’