विश्व अहिले पनि आणविक हतियारको त्रासमा

विश्व अहिले पनि आणविक हतियारको त्रासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज ६ अगस्त ! १९४५मा यसै दिन अमेरिकाले जापानको हिरोशिमामा आणविक बम खसालेको थियो । त्यति मात्र होइन, त्यसको दुई दिनपछि अमेरिकाले फेरि नागासाकीमा अर्को आणविक बम खसाल्यो ।

आज अमेरिकाले जापानका दुई शहरमा खसालेको आणविक हतियारको ८०औं वार्षिकोत्सव हो । घटनाको ८० वर्ष बितिसक्दा पनि जापानीले अगस्ट ६ र अगस्ट ९ को त्यो त्रासदी घटनालाई भने अहिले पनि बिर्सेका छैनन् ।

दोस्रो विश्वयुद्धको अन्तिम चरणमा जापानलाई आत्मसमर्पण गराउन अमेरिकाले गरेका यी आक्रमणहरूले कम्तीमा २ लाख १० हजार भन्दा बढीको मृत्यु भयो । साथै दीर्घकालीन स्वास्थ्य समस्या र जापानी जनसंख्यामा अनुवांशिक असरहरू पछिसम्म रह्यो ।

हिरोसिमामा ‘लिटिल ब्वाई’ नाम गरेको परमाणु बम खसालेको तीन दिनपछि ९ अगस्टमा जापानकै अर्को शहर नागासाकीमा ‘फ्याट म्यान’ नाम गरेको बम खसालियो, जसमा ७० हजारभन्दा बढीको मृत्यु भयो ।

नागासाकी शहर केही क्षणमै खरानीमा परिणत भयो । जापानको हिरोसिमा र नागासाकीमा मानव इतिहासकै खराब विध्वंस मच्चियो । घना बस्ती भएको हिरोसिमामा ‘लिटिल ब्वाई’ विस्फोट र त्यसपछिसमेत गरी झण्डै १ लाख ४० हजार मानिसको मृत्यु भएको मानव सभ्यताकै कालो दिन मानिने यो घटनाको ८० वर्ष पुगिसक्दा पनि अझै उनीहरूले यसलाई भुल्न सकेका छैनन् ।

रेडियोधर्मी विकिरण र विशालु ग्यासका कारण हिरोसिमामा बम विस्फोटन भएको पाँच वर्षपछि प्रकाशित एक सर्वेक्षणका अनुसार २ लाखभन्दा बढी मानिस त्यही एउटा शहरमा मारिएका थिए ।

क्यान्सरका रोगी त्यत्तिकै बढे । नागासाकीमा पनि करिब ७० हजारको मृत्यु भयो । हिरोसिमा र नागासाकीमा खसालेका बमबाट मारिनेमध्ये ९५ प्रतिशत निर्दोष सर्वसाधारण थिए ।

आजसम्म पनि युद्धमा आणविक हतियार प्रयोग गर्ने अमेरिका एक मात्र राष्ट्र हो ।

इतिहासकार बेन बेकरले लिबरेशन न्यूज मा लेखेका छन्, ‘हिरोशिमा र नागासाकीमाथिको बमबारीलाई दोस्रो विश्वयुद्धको अन्त्यभन्दा पनि नयाँ युद्ध र नयाँ युगको सुरुवातका रूपमा बुझ्नुपर्छ । यी आक्रमणहरूपछि अमेरिकाले विश्वकै ठूला आणविक भण्डारहरूमध्ये एकलाई प्रयोग गरेर अरू राष्ट्रहरूलाई धम्क्याउने काम गर्दै आएको पुष्टि हुन्छ ।’

आणविक हतियार पहिलो पटक खसालिएको दिनदेखि नै अमेरिकी साम्राज्यवादको सैन्य र राजनीतिक हतियार बनेको बेकर लेख्छन् ।

हिरोशिमा, नागासाकी र जापानी जनसंख्यामा विनाश ल्याउने बमहरू म्यानह्याटन परियोजना अन्तर्गत विकास गरिएका थिए, जुन सन् १९४२ देखि १९४६ सम्म अमेरिकी सरकारको नेतृत्वमा सञ्चालन गरिएको थियो ।

यस परियोजनाको सुरुआत मुख्यतः नाजी जर्मनीले आणविक बम विकास गर्ने डरका कारण गरिएको थियो । सन् १९३९ मा भौतिकशास्त्री लियो स्जिलार्डले आफ्ना साथी हंगेरी मूलका वैज्ञानिक एडवर्ड टेलर र यूजिन विग्नरसँगको परामर्शमा राष्ट्रपति फ्र्यांक्लिन डी. रुजवेल्टलाई सम्बोधन गरी एक पत्र तयार गरे, जसमा अल्बर्ट आइन्स्टाइनले पनि हस्ताक्षर गरेका थिए ।

उक्त आइन्स्टाइन–स्जिलार्ड पत्रले नाजीहरूले आणविक हतियार विकास गर्न सक्ने चेतावनी दिँदै अमेरिकालाई आफ्नै आणविक अनुसन्धान सुरु गर्न आग्रह गरेको थियो ।

सन् १९४५ को जुलाई १६ मा अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने न्यू मेक्सिकोमा विश्वको पहिलो आणविक बम परीक्षण गरियो । यस परीक्षणले स्थानीय ३०,००० जनसंख्यामा पुस्तौंसम्म स्वास्थ्य समस्या उत्पन्न गरायो । अमेरिकामा अहिलेको ट्रिनिटी साइट भनिने स्थानमा भएको विस्फोटले त्यस क्षेत्रमा असामान्य प्रकारका क्यान्सरहरू निम्त्यायो । ती बासिन्दाहरू आजसम्म न्यायको खोजीमा छन् ।

जापानमाथि अमेरिकाले गरेको बमबारी र त्यसपछिको विनाश तथा लाखौँ मानिसको मृत्युले विश्वभर व्यापक आक्रोशको लहर ल्यायो । यो आक्रोश तिनै व्यक्तिहरूबाट पनि देखियो, जसले म्यानह्याटन परियोजनाको विकासका लागि पहिले जोडदार समर्थन गरेका थिए ।

म्यानह्याटन परियोजनामा सहभागी वैज्ञानिक लियो स्जिलार्डले सन् १९४५ को गर्मीयाममा अमेरिकी राष्ट्रपति ट्रुमनलाई जापानमाथि आणविक बम नफाल्न अनुरोध गर्दै एक पत्र पनि लेखे । पत्रमा उनले चेतावनी दिँदै भनेका थिए, ‘अमेरिका अब अकल्पनीय विनाशको युगको ढोका खोल्ने जिम्मेवार बनेको छ ।’

आणविक हतियारको विस्तार

हिरोशिमापछि अमेरिका छिट्टै आफ्नो आणविक हतियार भण्डारलाई विस्तार गर्न थाल्यो र सन् १९४९ को सेप्टेम्बरसम्म (सोभियत संघले पहिलो पटक आणविक बम परीक्षण नगरेसम्म) आणविक हतियारमा एकाधिकार राख्यो । सोभियत संघले पहिलो बम विस्फोट गरेपछि अमेरिकाले त्यसको प्रतिक्रिया स्वरूप हाइड्रोजन बम बनायो । जसको शक्ति हिरोशिमा र नागासाकीमा खसालिएका बमहरूभन्दा हजारौँ गुणा शक्तिशाली थियो ।

अहिले संसारमा ९ राष्ट्रहरू रूस, अमेरिका, चीन, फ्रान्स, बेलायत, पाकिस्तान, भारत, इजरायल र उत्तर कोरियासँग आणविक हतियार छन् । यी राष्ट्रहरूको संयुक्त रूपमा झण्डै १२ हजार ३३१ परमाणु छन् ।

तर, ८० वर्ष बितिसक्दा पनि आणविक हतियारको खतरा संसारबाट हटेको छैन । युक्रेनमा रुसको आक्रमण र हालै अमेरिका र इजरायलद्वारा इरानका आणविक केन्द्रहरूमा गरिएका हवाई आक्रमणहरूले जीवनलाई नै खतरामा पार्ने आणविक त्रास सिर्जना गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय समुदायसँग यस्ता खतरालाई बलियोसँग रोक्ने पर्याप्त शक्ति छैन, जसले गर्दा यो एक गम्भीर संकट बनेको छ ।

यदि फेरि आणविक हतियार प्रयोग गरियो भने त्यसको क्षति अकल्पनीय र विनाशकारी हुनेछ । जापानले यो आफैँले भोगिसकेको छ । युद्धमा आणविक बमको विनाश सहने विश्वको एक मात्र राष्ट्रका रूपमा जापानले ८० वर्षअघि हिरोशिमा र नागासाकीमा यस्ता हतियारहरूको अमानवीय परिणाम देखिसकेको छ ।

युद्ध मानव विनाशको मात्र होइन, वातावरणीय विनाशको पनि सबैभन्दा चरम रूप हो । आणविक हतियारको प्रयोगले वातावरण र मानिसको जीवन तथा स्वास्थ्यमा गहिरो असर पार्दछ ।

त्यसैले युद्ध र आणविक हतियारमुक्त संसारको लक्ष्य आवश्यक छ । सन् २०२१ मा आणविक हतियार निषेध सन्धि कार्यान्वयनमा आएको थियो । तर, युद्धमा आणविक बमको मार सहने एकमात्र राष्ट्र जापानले अझै उक्त सन्धिमा हस्ताक्षर वा अनुमोदन गरेको छैन ।