काठमाण्डु – हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन् । आइतबार उर्जामन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले कार्यकारी निर्देशककै अधिकार र सेवा सुविधा पाएका छन् ।
मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । प्राधिकरणमा सवैभन्दा सिनियर रहेका शाक्य करिब ३ वर्ष अघिदेखी काजमा एनइए इन्जिनियरिङको जिम्मेवारीमा थिए ।




प्रतिक्रिया