काठमाण्डु – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।
कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले भने, ‘यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उहाँहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।’
जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उहाँले बताउनुभयो । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उनले जानकारी दिए ।
पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुव्र्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए । कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थिए ।
चितवनका चिकित्सक विश्ववन्धु बगाले आफैँ पनि त्यस्ता गतिविधिको शिकार भएका थिए । उनले यस्ता गतिविधिले सङ्क्रमितहरु झन पीडित हुनुपरेको बताए ।
जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाण्डु उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ । उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ । साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया