कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्यो (तस्बिरहरू)

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्यो (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटमा रहेको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेको छ ।

गएराति बागमती नदीमा पानीको बहाव बढ्दा होल्डिङ सेन्टरमा बाढी पसेको हो । बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ।

बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो। तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन्।

मध्यराति करिब १ बजे सेन्टरमा बाढी पसेको थियो। बाढी घुँडासम्म आउने गरी छिरेपछि सुकुम्बासीहरूले प्रयोग गर्दै आएका लत्ताकपडा र खाद्यान्न भिजेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई मात्र उद्धार गरी त्रिविको स्मृति भवनमा स्थानान्तरण गरिएको हो।

बाँकीमध्ये ६ जना होस्टलमा बसेको र ९४ जनाले सुरक्षित स्थानमा जान अस्वीकार गरेको प्राधिकरणले फेसबुकमार्फत जानकारी दिएको छ।

डुबान क्षेत्रमा उद्धार र सहयोगका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६० जनाको संयुक्त टोली खटिएको छ । उद्धार गरिएका बाहेक कतिपय स्थानीयहरू आफ्ना आफन्तकोमा गएका छन् भने केही सेन्टरकै आसपासमा बसेका छन्।

शनिबार बिहानदेखि विस्थापितहरूका लागि खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।