काठमाण्डु – होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाण्डुबाट २ जना महिलासहित १२ जनालाई पक्राउ गरेको छ ।
इच्छाविपरीत लोला हान्ने र रंग दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
काठमाण्डुको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कसूरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।
यसैबीच, होलीको अवसरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ । उपत्यकाका ३ वटै जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ ।
होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाण्डुका १२० बढी स्थानमा चेकजाँच गर्न टोली खटाएको छ । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट मासपे गरी चलाएका सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया