होलीमा कडाईः पाइला–पाइलामा चेकिङ, ९ सय ट्राफिक परिचालन


काठमाण्डु – महानरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै उपत्यकाको ९० ठाउँमा चेक प्वाइन्ट राखेको छ ।

महाशाखाले होलीमा सवारी नियम तोड्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने खालका गतिविधि नियन्त्रण गर्न उपत्यकामा ट्राफिक प्रहरी परिचालन गरेको हो ।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ९ सय ट्राफिक प्रहरी परिचालन गरेको जानकारी दिए ।

यस्तै महानगरीय प्रहरी कार्यालयले जबरजस्ती रंग दल्ने र लोला हान्नेलाई पक्राउ गर्ने गरी सुरक्षा योजना बनाएको बताएको छ ।

३ सय १२ वटा दुईपाङ्ग्रे सवारी कारबाहीमा

काठमाण्डु उपत्यकामा होली मनाउँदा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ ।

महाशाखाले ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय १२ वटा मोटरसाईकल र स्कुटरलाई कारबाही गरिएको महाशाखाका एसएसपी भट्टराईले जानकारी दिए ।

विहान ७ बजेबाट ट्राफिकले चेक प्वाइन्ट राखेको हो । १७ वटा चारपाङ्ग्रे सवारी होल्ड गरिएको छ । कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई होल्डमा राखिएको छ । मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिकले कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement