एजेन्सी – नेपालका प्रधानमन्त्री लगायत केही नेताहरुलाई होली वाइन खुवाउने क्रिश्चियन धर्मकी गुरुआमा मानिने शिन ओकजुलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक ‘शिन ओक जु’लाई ६ वर्षको जेल सजाय तोकिएको हो ।
ग्रेस रोड चर्च धर्म प्रचार गर्ने आफ्ना अनुयायी बनाउँदै हिँड्ने संस्था हो । तर, नेपालका नेताहरुलाई होली वाइन खुवाउने संस्था भने होइन ।
ग्रेस रोड चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी र उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको आरोपमा उनी गएको जुलाईमा पक्राउ परेकी बीबीसीले जनाएको छ ।
उनीमाथि बन्धक बनाइएका चार सय मध्ये सबैको पासपोर्ट खोसेर राखेको र तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको समेत उजुरी परेको थियो ।
सो चर्चको बन्धकबाट उम्कन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेकी बीबीसीले जनाएको छ ।
यसै सम्बन्धमा सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी सावित गर्दै ६ वर्षको जेल सजाय तोकेको हो ।
दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतलले ‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’ भन्दै उनलाई सो सजाय सुनाएको बीबीसीले जनाएको छ । ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ’, अदालतको फैसलामा उल्लेख छ ।
शिनले केही महिना अघि मात्र नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई ‘होली वाइन’ ख्वााएको विषय निकै चर्चामा आयो । यो चर्चा अहिले पनि सेलाइसकेको भने छैन ।
प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो । काठमाडौंको ह्यात रिजेन्सी होटेलमा इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले आयोजना गरेको कार्यक्रममा नेताहरुलाई होली वाइन खुवाइएको थियो ।




प्रतिक्रिया