काठमाण्डु – जेनजीको अगुवाइमा देशभर भइरहेका प्रदर्शनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकसित भएकोमा सरकार सचेत रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनसँगै शान्ति सुरक्षा बहाली गर्न तथा आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन सरकार क्रियाशील रहेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै घोषित मितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला निकाय र आम नागरिकको समेत महत्वपूर्ण दायित्व हुन्छ ।’
गृह मन्त्रालयले आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सबै नागरिकसँग आग्रह गरेको छ । धर्ना, जुलुस लगायतका विरोध कार्यक्रमहरू सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरिएको छ ।
विज्ञप्तिमा सरकारले नागरिकका चासो, सरोकार र मागलाई वार्ता तथा छलफलमार्फत समाधान गर्न सधैं सकारात्मक रहेको उल्लेख गरिएको छ । मन्त्रालयले धर्ना वा विरोध कार्यक्रमअघि वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ ।





प्रतिक्रिया