जेनजी आन्दोलनका घाइतेको वर्गीकरण ७ दिने सूचनामार्फत गर्न गृह मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण ७ दिने सूचनामार्फत गर्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण ७ दिनभित्र गरिसक्न निर्देशन दिएको छ ।

मन्त्रालयको राहत तथा तथ्यांक व्यवस्थापन शाखाबाट आईतबार जारी पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’का आधारमा वर्गीकरण कार्य तुरुन्त सुरु गर्न भनिएको छ ।

कार्यविधि स्वास्थ्य मन्त्रीबाट स्वीकृत भइसकेको उल्लेख गर्दै गृह मन्त्रालयले प्रत्येक जिल्लामा वर्गीकरण सहजीकरण समिति गठन गरी ७ दिनको सूचना प्रकाशित गरेपछि घाइते तथा अपाङ्गको वर्गीकरण कार्य सम्पन्न गरी प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले वर्गीकरणको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा रहेको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमार्फत पठाई गृह मन्त्रालयलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

जेनजी आन्दोलनका घाइतेहरूले प्राप्त गरेको पहिचानपत्र अनुसार उनीहरूको वर्गीकरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै हुने व्यवस्था मिलाउन गृह सचिवस्तरीय निर्णयअनुसार व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले कार्यविधिको प्रतिलिपि समेत इमेलमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पठाइसकेको जनाएको छ ।