केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनको सुरक्षाको समीक्षा गर्दै यस्तो निर्णय

केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनको सुरक्षाको समीक्षा गर्दै यस्तो निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मुलुकभरको सुरक्षा व्यवस्थाबारे निर्णय गरेको छ ।

बैठकमा ४ वटै सुरक्षा निकायबाट हालको सुरक्षा चुनौतीबारे जानकारी गराउँदै समग्र अवस्थाको विस्तृत समीक्षा तथा विश्लेषण गरिएको छ ।

समितिले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विस्तृत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ तयार गरी आवश्यक निकायहरूमा पठाइसकेको जनाएको छ । योजनामा विगतका निर्वाचनका अनुभव र सिकाइलाई आधार बनाइएको छ । ४ वटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई योजना कार्यान्वयनमा लाग्न निर्देशन दिइएको छ ।

योजनाअनुसार प्रत्येक प्रदेशमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेश कमाण्ड पोस्ट र निर्वाचन सेल गठन हुने व्यवस्था गरिएको छ । यसमा सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी हुनेछन् ।

समितिले सबै प्रदेशका प्रमुख सचिवलाई तत्काल लागू गरी निर्वाचन सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पत्र पठाउने निर्णय गरेको छ ।

बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै सुरक्षा निकायलाई आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।