काठमाण्डु – गृह मन्त्रालयमा सरुवा भएर आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाइ गरेका थिए ।
गृह सचिवको नयाँ जिम्मेवारी सम्हालेका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिएका छन् ।
यसअघि गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरूको साथ सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
आगजनी र खरानीबाट उठेको मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर गएका गृह सचिव रामेश्वर दंगालप्रति आभार प्रकट गरे । मन्त्रिपरिषद्को पुस ११ गते बसेको बैठकले सचिव दंगालको लोक सेवा आयोग र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा सचिव श्रेष्ठले अहिलेको बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरूप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिए । बिदाइ कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया