अनुगमनलाई तीब्र बनाउन मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन


काठमाण्डु – गृह मन्त्रालयले सातै प्रदेशमा अनुगमनलाई तीब्रता दिने भएको छ । गृहमन्त्रालयमा आव २०७७–७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृहमन्त्रालय मातहतका निकायको कामकारबाहीको अनुगमनलाई अब थप तिब्रता दिईने बताएका हुन् ।

गृहमन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवहरुको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली समेत गठन गरेको छ । कार्यक्रममा गृहमन्त्रीले कोरोना महामारी लगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको भन्दै आगामी दिनमा कामकारबाहीलाई तिव्रता दिन मातहतका निकायलाई निर्देशन दिए ।

उनले भने, “कतिपय कामका लागि छुट्टयाइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो, प्रथम चौमासिकको समिक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमिकमजोरी निराकरण गर्दै योजना बनाउनुहोस् ।’

बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement