गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । उनले बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुषास्थित कमला नदीबाट भएको कटानको स्थलगत निरीक्षण गरेका हुन् ।

मेलम्ची हेलम्बु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू-बनोटका कारण पहिरो गई हिलो आएर क्षति पुर्‍याएकाले मुहान क्षेत्रबाटै बलियो पूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताए ।

हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको बताउँदै उनले भने, “पुनर्निर्माणको काम छिटो अघि बढाइनेछ, सबै निकायको समन्वय र सहकार्यमा काम अघि बढाउने विषयमा सरकार गम्भीर छ ।” राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भएपनि मेलम्ची क्षेत्रको पुनर्निर्माण अघि बढाइने उनले बताएका छन् ।

मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भने, “सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो । त्यसैले पुनर्निर्माणको कामका लागि ढुक्क हुनुस्, सरकारले सहयोग गर्छ ।”

कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उनले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाएका छन् । कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजारौँ जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उनले बताएका छन् ।