गृहमन्त्रीद्वारा आन्दोलनमा संयमता अपनाई सुरक्षा प्रदान गर्ने निकायलाई धन्यवाद व्यक्त

गृहमन्त्रीद्वारा आन्दोलनमा संयमता अपनाई सुरक्षा प्रदान गर्ने निकायलाई धन्यवाद व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन् ।

गृहमन्त्री खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका हुन् ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाण्डु , ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त गरेको उनका प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिए ।

उनले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन् ।

“एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाहरू उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिएका हुन्”, गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताए ।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।