काठमाण्डु – गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने संकेत गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार उठेको भिजिट भिसा प्रकरणको विषयमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन उनले विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरे ।
बैठकमा विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको मन्त्री लेखकलाई सम्झाए ।
समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए ।
बैठकमा मन्त्री लेखकले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउन माग गरे ।
राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शङ्का पैदा गरेको पाण्डेले बताए ।
नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनको आरोप छ ।




प्रतिक्रिया