काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । सुनुवाइ बुधबार नकिएपछि शुक्रबारसम्म हेर्दाहेर्दैमा राखिएको हाे । बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ।
अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ। लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टाछुट्टै २ रिट निवेदन दर्ता भएका थिए ।
अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको थियो। लामिछानेले २०७५ साल असार ६ गते अमेरिकी नागरिकता त्यागेको निस्सा भिसा प्रयोजनका लागि अध्यागमन विभागलाई जानकारी गराएको जवाफ दिएका छन् । तर उनको विपक्षमा बहस गरेका अधिवक्ताहरूले भने उक्त जानकारी भिसा अध्यावधिक प्रयोजनका लागि मात्रै भएको बताएका छन् ।




प्रतिक्रिया