काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकामा क्वारेन्टाइनको व्यवस्थापन गर्न एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टाइनको प्रवन्ध तथा व्यवस्थापन गर्न समिति गठन गरेको हो ।
गृह मन्त्रालयका सचिव संयोजक रहनेगरी गठन गरिएको उक्त समितिमा विभिन्न मन्त्रालयका उच्च तहका कर्मचारी सदस्य रहेका छन् ।
जसअनुसार सदस्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ वा १२ तहको कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको सहसचिव, महानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग, प्रमुख जिल्ला अधिकारी (काठमाण्डु, ललितपुर र भक्तपुर), सबै सुरक्षा निकायका उपत्यका हेर्ने राजपत्रांकित प्रथम श्रेणी सरहका पदाधिकारी, काठमाण्डु उपत्यकास्थित क्वारेन्टिन रहने स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधिरहेका छन् भने गृह मन्त्रालयका सहसचिव सदस्य सचिव रहेका छन् ।
समितिले क्वारेन्टाइन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने, क्वारेन्टाइन स्थलको निर्माण, मर्मत लगायतका अत्यावश्यक कार्य शहरी विकास तथा भवन निर्माण विभाग मार्फत गर्ने, एकीकृत क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने बताइएको छ ।
त्यस्तै सरकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको जनाएको ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए ।
उनले संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको बताए । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयले ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयले १ करोड २९ लाख खर्च गरेका छन् ।




प्रतिक्रिया