काठमाडौं – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको भन्दै यस्तो जिम्मेवारीका लागि सहि सूचनाहरु संकलन गर्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित एक कार्यक्रमकाबीच अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक रहेको बताउँदै सहि सूचना, यथार्थ एवम् ठोस प्रमाणको आधारमा सुरक्षा योजना तथा नीति निर्माण गर्न सकिने उनले बताए ।
प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिम राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक र उप–अनुसन्धान निर्देशकहरुको लागि संचालन भएको हो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्वात गृहमन्त्री थापाले तालिमको मुख्य लक्ष्य सफल, सक्षम नेतृत्व एवम् व्यावसायिक सुरक्षा अधिकृत निर्माण गर्नु रहेको चर्चा गर्दै तालिमबाट प्राप्त नेतृत्व विकास सम्बन्धी सिद्धान्त तथा विबिध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय अनुसन्धान विभागका मुख्य जिम्मेवारी ठोस सूचना संकलन गर्नु रहेको बताउँदै गृहमन्त्री थापाले आगामी दिनमा सूचना संकलनको लागि अनुसन्धान विभागलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिए ।
सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई निस्तेज र नियन्त्रण गर्ने नीति लिएको चर्चा गर्दै गृहमन्त्री थापाले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भष्ट्राचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताए । देशको राजनीतिक प्रणाली, अर्थतन्त्रको सुरक्षा, नागरिकले प्राप्त गरेका राजनीतिक अधिकार एवम् राष्ट्र र जनताको गरिमाको सुरक्षाका लागि हामीसँग भएका ज्ञान, सिप एवम् क्षमतालाई अभिवृद्धि गर्नुपर्ने उनले उल्लेख गरे ।
वर्तमान अवस्थामा विज्ञान र प्रविधि गुणात्मक रुपमा तीव्र विकास भइरहेको चर्चा गर्दै अपराधीहरुले प्रविधिको उच्च प्रयोग गर्दै आपारधिक क्रियाकलाप गर्दै आएको र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधि सम्बन्धी ज्ञान तथा सिप लगायतका बिषयहरु तालिममा समेत समावेश गर्नुपर्नेमा उनले जोड दिए । साथै उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दरिता र अनुशासन अनिवार्य रहेको समेत उनले बताए ।
कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालिम संचालन गरिएको बताउँदै आउँदा दिनमा यस्ता तालिमलाई निरन्तर रुपमा संचालन गरिने बताए । साथै तालिम पश्चात सूचना संकलन तथा नेतृत्व गर्दा विगतको भन्दा प्रभावकारी रुपमा क्षमता प्रदर्शन हुने विश्वास उनले व्यक्त गरे ।




प्रतिक्रिया