प्रचण्डलाई गृहमन्त्रीको सुझावः निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्

प्रचण्डलाई गृहमन्त्रीको सुझावः निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्


चितवन – गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । नेकपा ओली पक्षले चितवनमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहममन्त्री थापाले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी भएर प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् ।

उनले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने समेत टिप्पणी गरेका छन् । ‘आउनुस्, निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्, तपाईंहरूलाई मतपत्र च्यात्न जरुरी पर्ने छैन’, बादलले भने । गएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेद्वार बनेकी प्रचण्डपुत्री रेणु दाहालका पक्षधरले मतपत्र च्यातेका थिए ।

त्यस्तै उनले प्रचण्ड–नेपालले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरेपछि संसद विघटनको बाध्यात्मक र साहसिक कदम चाल्नुपरेको बताए ।

‘उहाँहरुले प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गर्नुभयो, त्यो षड्यन्त्र असफल पार्न सरकार र पार्टीले संसद विघटनको ऐतिहासिक कदम उठायो,’ उनले भने, ‘संसदको दुरुपयोग गरेर सरकारको नेतृत्व अपदस्त गर्ने र देशमा अस्थिरता पैदा गर्न चाहन्थे, त्यो रोक्न बाध्यात्मक र साहसिक कदमको रूपमा संसद विघटन गरिएको हो ।’