काठमाण्डु- गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ ।
यस क्रममा सर्वाेच्च अदालतबाट जफत् हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए ।
‘५ जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, महानिर्देशक पन्थीले भने, ‘हामीले अदालतबाट सो सम्वन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौं ।’
सम्पत्ति जफत सम्बन्धी विभिन्न अदालतबाट ३ हजार ५ सय फैसला भएको उनले जानकारी दिए । महानिर्देशक पन्थीले २ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारीमा रहेको मन्त्रालय रहेको बताए । पहिलो चरणमा ५ पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पती जफतको प्रक्रिया अघि बढाइएको हो ।
अदालतबाट फैसला भइ जफत् गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत् गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको मन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफत सम्बन्धी ऐनअनुसार सर्वाेच्चबाट फैसला भएअनुसारका घरजग्गा जफत गरी सरकारको नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारी बहादुर कार्की, केशरजंग खड्का र रामाज्ञा चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत् गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । त्यस्तै, आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत्का लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको छ ।
विगतमा अपराधिक गतिविधिमा संलग्न भारत, असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर जफत्का लागि गृह मन्त्रालयले अघि बढेको हो ।
डेढ वर्ष अघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आएको थिएन । ‘होजाईसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ ’ महानिर्देशक पन्थीले भने, ‘होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवाद/अपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।’
कसुरजन्य सम्पत्तिको जफत्को कामलाई तीव्रता दिइने बताउँदै विभागका महानिर्देशक पन्थीले केही कसुरजन्य सम्पत्ति जफत्का लागि प्रक्रिया अघि बढिसकेको जानकारी समेत दिए ।
‘जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारको नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ’, उनले भने, ‘भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत् गर्न लागिएका घरजग्गा भने सरकारको नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिनेछ ।’




प्रतिक्रिया