काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी भागरथी भट्ट हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत निकै संवेदनशील रहेको उक्त घटनाको सफल अनुसन्धान गर्दै हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको बताएका हुन् ।
गृहमन्त्री थापाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई कानुनी कारवाहिको दायरामा ल्याएको भन्दै नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको बताएका छन् । साथै उनले यस्ता घटनामा संलग्नहरुलाई कारवाहिको दायरामा ल्याउन आफु प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।
भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले भागरथीका हत्यारालाई पक्राउ गरेर आज बुधबार सार्वजनिक गरेको थियो ।
जिल्ला अदालत बैतडीले भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।




प्रतिक्रिया