काठमाण्डु – सरकारले गृहमन्त्रालयका सचिवको सरुवा तयारी गरेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई परिवर्तन गरेर सामान्य प्रशासन मन्त्रालयमा रहेका एकनारायण अर्याललाई गृहसचिव बनाउने सम्भावना रहेको स्रोतको दावी छ । अर्याल यसअघि सहसचिव हुंदा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन् । उनको गृहमन्त्रालयमा लामो अनुभव छ ।
अर्यालले कलकत्तामा महावाणिज्यदूतको समेत जिम्मेवारी सम्हालेका थिए । अहिले गृहसचिव रहेका न्यौपाने अख्तियारबाट गृहमन्त्रालयमा सरुवा भएर आएका थिए । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ । न्यौपानेको यो ६ महिनामा दुई चोटी सरुवाको लागी फाइल उठेपनि अन्तिममा रोकिएको थियो । उनको कार्यक्षमता कमजोर भएको भन्दै सरकारले उनलाई गृहमन्त्रालयबाट अन्त पठाउन खोजेको हो ।
‘अव न्यौपानेको सरुवा चांडै हुन्छ होला,सरकारले चुनावको घोषणा गरिसकेको अवस्थामा गृहसचिव अनुभवी र क्षमता भएको चाहिन्छ । त्यसका लागी केही दिनमा उपयुक्त व्यक्तिलाई गृहमा ल्याउने तयारी छ । ’ स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।
न्यौपाने निती निर्माणमा भन्दा पनि प्रहरीको सरुवा बढुवा र व्यक्तिगत काममा बढी सक्रिय रहेको र निर्णय क्षमता समेत कमजोर रहेको बताइन्छ ।
अहिले गृहसचिव वन्नको लागी श्रम सचिव सुर्य गौतम र पर्यटन सचिव यादव कोइराला समेत लविङमा लागेका छन् । कोइरालासंग पनि गृहमन्त्रालयको अनुभव छ । उनि सहसचिव हुंदा ललितपुर सिडिओ भएका थिए भने मन्त्रालयमा शान्ति सुरक्षा महाशाखाको प्रमुख समेत बनेका थिए । सरकारले अरु मन्त्रालयका सचिवहरुको समेत सरुवा गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया