पूर्वमन्त्री होमनाथ दाहालको निधन

पूर्वमन्त्री होमनाथ दाहालको निधन


काठमाण्डु – पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा शुक्रबार साँझ निधन भएको हो ।

उनको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार गरिनेछ । दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन् । दाहालका दुई छोरा डा. सुधाम्शु र हिमाम्सु छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।

२०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हालेका दाहाल नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजकका रूपमा पार्टीको विचारधारालाई प्रवर्धन गर्न सक्रिय रहेका थिए।

१९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए ।

पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उनले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिएका थिए । उनले गोरखापत्र संस्थानमा अध्यक्ष तथा महाप्रबन्धकका रूपमा समेत कार्यभार सम्हालेका थिए ।