हङकङमाथि नेपालको शानदार जित


काठमाडौं – टी-२० क्रिकेट श्रृंखलामा नेपालले हङकङलाई हराउँदै पहिलो खेल जितेको छ।आईतबार भएको पहिलो खेलमा नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा पहिलो खेल जितेको हो ।

ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

१२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन्। भण्डारीले नटआउट ५८ रन प्रहार गरेका थिए। ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन प्रहार गर्दै नेपाललाई जीत दिलाएका हुन्।

नेपालका लागि आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाउनुका अलवा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।  हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान दुई(दुई विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो। हङकङलाई कम स्कोरमा रोक्नमा नेपालका करन केसीले महत्त्वपूर्ण तीन विकेट लिएका थिए।

उनले एकै ओभरमा तीन विकेट लिएका थिए। सुरुमै धर्मराएको हङकङको इनिङलाई वकास वर्कत र किन्छित साहले सम्हालेका थिए। वकासले ३७ र किन्छितले ३१ रन प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement