काठमाण्डु – सरकारले १००–३०० शय्यासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए ।
आउँदो ३ दिनभित्र मन्त्रिपरिषद् बैठकमा लैजाने पनि उनले जानकारी दिए ।
सचिव पोखरेलले स्वास्थ्य मन्त्रालयसँग भएको २ हजार ६०० दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्ने अवस्था नभएको स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।
सचिव पोखरेलले चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड बजेट पाएकोमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड रुपैयाँ अर्थात् झण्डै २१ प्रतिशत खर्च भएको जानकारी दिए ।




प्रतिक्रिया