सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको तत्काल संरक्षण गर्न कडा निर्देशन दिएको छ ।

मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत विवरण संकलन गर्न तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिएको हाे।

परिपत्रअनुसार अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई स्वीकृत नक्साअनुसार आफ्ना जग्गाको साँध सिमाना यकिन गर्न, अनधिकृत संरचना वा अतिक्रमण भए नभएको स्पष्ट अभिलेख तयार गर्न भनिएको छ।

मन्त्रालयले अतिक्रमण भेटिएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना दिन र त्यसपछि पनि अतिक्रमण कायम रहे जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी हटाउन निर्देशन दिएको छ।

भविष्यमा पुन अतिक्रमण हुन नदिन खाली वा फिर्ता गरिएका जग्गामा कम्पाउण्ड वाल निर्माण गर्न तथा आवश्यक सुरक्षा व्यवस्था अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, जग्गासम्बन्धी लालपुर्जा, स्रेस्ता तथा अभिलेख अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित विवरण सुरक्षित राख्न पनि भनिएको छ।

मन्त्रालयले विशेष रूपमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलगायत प्रमुख स्वास्थ्य संस्थालाई परिपत्रको दायरामा राखेको जनाएको छ।

यसका साथै क्यान्सर अस्पताल, मानसिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र, अनुसन्धान तथा तालिम केन्द्र तथा अन्य स्वास्थ्य प्रतिष्ठानलाई पनि निर्देशन दिइएको छ।

सार्वजनिक सम्पत्तिको संरक्षण तथा स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको मन्त्रालयले स्पष्ट पारेको छ।