काठमाण्डु – नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । संस्थापन पक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादका कारण एमाले विभाजनको अवस्थामा पुगेको हो ।
ओलीसँग मिलेर जान नसक्ने बताउँदै आएका नेता नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । अध्यक्ष ओलीले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको भन्दै नेपाल समूह नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा पुगेको हो ।
गत शुक्रबार आफूलाई भेट्न कोटेश्वर पुगेकी नेपालका लागि चिनियाँ राजदूत योउ यान्छीलाई नेता नेपालले उक्त कुराको खुलासा गरेका हुन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाउन छुट्टै पार्टी दर्ता गर्ने बताएका थिए ।
राजदूत यान्छीले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेभित्रका विवादलाई आन्तरिक रुपमा समाधान गर्दै मिलेर अगाडि बढ्न सुझाव दिएकी थिइन् ।
स्रोतकाअनुसार उनले राजदूतलाई आफ्नो अर्काे पनि योजना सुनाएका थिए । नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने बताउँदै एमालेसँगैको यात्रामा ब्रेक लाग्ने बताएको स्रोतले जानकारी दियो ।
‘देउवालाई हाम्रो समर्थन छ । नयाँ पार्टी दर्ता गर्छु’, नेता नेपालले राजदूतसँग भनेका थिए ।
नेकपा एमाले विभाजनको संघारमा पुगेका बेला राजदूत यान्छीले राजनीतिक भेटवार्ता पनि तिव्र बनाउँदै आएकी छन् ।
उनले केही दिनको अन्तरालमा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।




प्रतिक्रिया