हुलाकी राजमार्ग : १६ वर्षमा ७३ प्रतिशत प्रगति

हुलाकी राजमार्ग : १६ वर्षमा ७३ प्रतिशत प्रगति

दुई गुणा बढ्यो लागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर पनि प्राथमिकता नदिँदा १६ वर्षमा हुलाकी राजमार्गको ७३ प्रतिशतमात्रै काम भएको छ ।

२०६६ साउनबाट निर्माण सुरु भएको राजमार्ग हालसम्म करिब ७३ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालयका सूचना अधिकारी विष्णुबाबु पाण्डे बताउँछन् ।

विगतमा चिठीपत्र आदानप्रदान गर्न प्रयोग हुने तराई÷मधेश क्षेत्रको झापादेखि कञ्चनपुरको दैजिसम्म हुलाकी राजमार्ग निर्माणाधीन छ । कुल १ हजार ८ सय ५७.४२ किलोमिटर लम्बाइको हुलाकीमा ३५ वटा सहायक राजमार्गहरू जेडिन्छन् ।

ती राजमार्गहरूले ८ सय ८२.४२ किलोमिटर सडक बनाउँदा निर्देशनालय स्वयम्ले ९ सय ५७ किलोमिटर सडक बनाउनु पर्ने हुन्छ । सबै सडक कालोपत्रे स्तर र ३ सय वटा पुल निर्माण गर्नुपर्ने राजमार्गमा पर्याप्त बजेट विनियोजन नहुनु मुख्य समस्याका रुपमा देखा परेको छ ।

२०६६ सालमा ४७ अर्ब ६५ करोड रुपैयाँमा सम्पन्न गर्ने भनिएको राजमार्गको लागत दुई गुणा बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ पुगिसकेको छ । जसमध्ये ८ अर्ब रुपैयाँ भारतले अनुदान दिएको हो । यद्यपि अनुदान भनिएको रकम नदिएर सो रकमबराबरको ३ सय किलोमिटर सडक निर्माण गरेर सन् २०२३ मा नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

१ हजार ८ सय ५७.४२ किलोमिटर मध्ये १ हजार ३ सय ५१ किलोमिटर कालोपत्र र ३ सय वटा पुलमध्ये १ सय ५१ वटा पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । अझै १ सय ४९ वटा र ५०६.४२ किमि सडक कालेपत्र गर्न बाँकी छ । साथै भौतिक प्रगति करिब ७३ र वित्तिय प्रगति ६८.९६ प्रतिशत सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

वन ऐनका कारण वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न पनि समस्या भएको निर्देशनालयले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज र कपिलवस्तु क्षेत्रको राष्ट्रपति चुरे संरक्षण समितिबाट सडक निर्माणको सहमति प्राप्त नहुँदा ४ वर्षदेखि ईआईए स्वीकृत भएको छैन ।

त्यस्तै दाङ र बाँकेको वन क्षेत्रमा पनि ठेक्का व्यवस्थापनमा समस्या भएको छ । त्यसबाहेक आयोजना स्वीकृत भएपछि पनि पटक–पटक स्रोत सुनिश्चितता लिनुपर्ने प्रावधान रहेको सूचना अधिकारी पाण्डे बताउँछन् ।

सरकारले २०८४ असारसम्म राजमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरेको छ । तर, स्रोत अभावको कारण देखाउँदै विगत ३ वर्षदेखि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेको नहुँदा निर्माण कार्य प्रभावित भइरहेको उनको भनाइ छ ।

‘हामीले २०८४ असारसम्म कालोपत्रसहितको सडक बनाउने लक्ष्य राखेका छौँ तर मुख्य समस्या नै बजेटमा भइरहेको छ’ सूचना अधिकारी पाण्डे भन्छन्, ‘राष्ट्रिय गौरवको आयोजना घोषणा भएअनुसार बजेट विनियोजन, वन, नदीजन्य पदार्थ उपलब्धतामा सहजीकरण भयो भने सम्पन्न गर्न सकिन्छ ।’

तर उनले दाबी गरेअनुसार हालसम्म स्रोत सुनिश्चित नभएको ठाउँमा बजेट जुटाएर ठेक्का आह्वान र सम्झौता गरेर २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्भावना छैन । किनकि नेपालका सडकहरूमा लगाइने अधिकांश ठेक्काहरू तीन वर्षका हुन्छन् ।

त्यसमा पनि सरकार र निर्माण व्यवसायीका विभिन्न कमजोरीले म्याद थपिदै जाने विगतको अनुभव छ । साथै सडक निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टि बालुवा, माटो जस्ता नदीजन्य सामाग्री प्रयोग गर्न वन ऐन, स्थानीय तहहरूबाट बाधा हुँदै आएको छ ।

यातायातको सहज पहुँच विस्तार गरी तराई क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्य राखिएको हुलाकी राजमार्गले २२ जिल्लालाई छुन्छ ।