मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू हुँदै

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू हुँदै


काठमाण्डु- नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण काठमाडौंमा आजदेखि सुरू हुँदैछ । ‘सामाजिक न्याय’ नाराका साथ आजदेखि शुरु हुने महोत्सव मंसिर २७ गतेसम्म चल्ने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ ।

चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गमा रहेको पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए । मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको उनले बताए ।

महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरु प्रदर्शन हुनेछन् । चार दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने आयोजक समितिले जनाएको छ ।

महोत्सव आयोजनाको अवसर पारेर वृत्तचित्रका ‘मेन्टर’ तथा सम्पादक निलोतपल मजुम्दरले चार दिने कार्यशालाको प्रशिक्षण दिने जनाइएको छ ।

कार्यशालामा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागी हुनेछन् । महोत्सवमा विभिन्न समूहगत छलफल र फोटो प्रदर्शनीलगायत हुने आयोजकको भनाइ छ ।