हुम्लामा माओवादी र कांग्रेसबीच तालमेल हुँदा एमालेलाई कठिन

हुम्लामा माओवादी र कांग्रेसबीच तालमेल हुँदा एमालेलाई कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशअन्तर्गतको हिमाली जिल्ला हुम्लामा सात स्थानीय तह छन् । ०७४ को निर्वाचनमा सातमध्ये चार स्थानीय तह माओवादी केन्द्रले जितेको थियो । कांग्रेसले दुई र एमालेले एउटा स्थानीय तह जिते ।

तर, वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्लामा माओवादी र कांग्रेसबीच तालमेल भएको छ भने एमाले एक्लै प्रतिस्पर्धामा होमिएको छ । सुुरुमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल गर्ने निर्णय भए पनि अन्तिम समयमा दुई दलबीच मात्रै तालमेल भएको छ ।

तालमेल गर्दा सातमध्ये माओवादीले नाम्खा, सिमकोट, चंखेली र ताँजाकोट गाउँपालिका पाएको छ । कांग्रेसले खार्पुनाथ, अदानचुली र सर्केगाड गाउँपालिका पाएको छ । जिल्लामा माओवादी र कांग्रेसबीच तालमेल भएका कारण एमाले शून्यमा झर्ने सम्भावना पनि छ । त्यसमाथि विभाजनको असर पनि जिल्लामा देखिन्छ ।

०७४ को निर्वाचनमा माओवादीले चंखेली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिका जितेको थियो । गत निर्वाचनमा सातमध्ये ६ पालिकामा माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धी दल थिए । चंखेली गाउँपालिकामा माओवादीले १२२४ र कांग्रेसले १०५५ मत ल्याएका थए । उपाध्यक्ष भने एमालेले जितेको थियो ।

ताँजाकोट गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको थियो । सर्केगाड गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले जितेको थियो । यो पालिकामा माओवादी र एमालेबीच तालमेल भएको थियो ।

कांग्रेसले खार्पुनाथ गाउँपालिका जितेको थियो । यो पालिकामा १११० कांग्रेस, माओवादीले ५३३ र एमालेले ५१० मत ल्याएका थिए । सिमकोट गाउँपालिका अध्यक्ष पनि कांग्रेसले जितेको थियो । १३६५ मत कांग्रेसले ल्याउँदा माओवादी १२४१ मत ल्याएर पराजित भएको थियो । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

एमालेले अदानचुली गाउँपालिका जितेको थियो । त्यतिवेला एमालेले ११८५ मत ल्याएको थियो । माओवादीले ९८७ तथा कांग्रेसले ७८४ मत ल्याएका थिए । अहिलेको निर्वाचनमा माओवादी र कांग्रेसबीच तालमेल भएको हुँदा एमालेले विगतको बिरासत जोगाउन ठूलै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

जिल्लामा स्थानीय चुनावका लागि ३२ हजार ५ सय ८१ मतदाता छन् । यसमध्ये १६ हजार ९ सय ७४ पुरुष र १५ हजार ६ सय ७ महिला मतदाता छन् । स्थानीय चुनावका लागि ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका ९ दल दर्ता छन् ।