चिनियाँ कम्पनी ह्वावेईलाई अमेरिकाको निसाना,प्रतिद्वन्द्वीबाट जोगाउन सङ्कटकाल घोषणा

चिनियाँ कम्पनी ह्वावेईलाई अमेरिकाको निसाना,प्रतिद्वन्द्वीबाट जोगाउन सङ्कटकाल घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सञ्चार सञ्जालहरूलाई ’विदेशी प्रतिद्वन्द्वीहरू’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन्। राष्ट्रिय सुरक्षाको लागि जोखिम र्पुयाउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाएको हो ।

कुनै कम्पनीको नाम लिइएको छैन तर विश्लेषकहरू भन्छन् त्यो आदेश मार्फत चिनियाँ कम्पनी ह्वावेईलाई निसाना बनाउन खोजिएको हो। अमेरिका र अन्य केही देशहरूले चीनको ह्वावेईले उत्पादन गरेका उपकरणहरूको प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्छ भन्दै चिन्ता व्यक्त गरिसकेका छन्।

ह्वावेईले चाहिँ आफ्ना उत्पादनले सुरक्षा खतरा उत्पन्न गर्ने भन्ने आरोपहरू अस्वीकार गर्ने गरेको छ। अमेरिका अहिले चीनसँग चर्किँदो व्यापार युद्धमा समेत मुछिएको छ। अमेरिकी वाणिज्य मन्त्रालयले चाहिँ ह्वावेई र ऊसँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालो सूचीमा राख्न लागिएको बताएको छ। अब ती कम्पनीहरूलाई अमेरिकी कम्पनीहरूसँग कारोबार गर्न झनै बढी कठिन हुन सक्छ।

राष्ट्रपतिको कदमको अमेरिकाको सङ्घीय सञ्चार आयोगका अध्यक्ष अजित पाइले स्वागत गरेका छन्। एक वक्तव्य मार्फत उनले यो “अमेरिकाको राष्ट्रिय सञ्जालहरूको रक्षा गर्ने दिशामा आएको एक महत्त्वपूर्ण कदम भएको“ बताएका छन्। अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई ह्वावेईका उत्पादन प्रयोग गर्नबाट बर्जित गरिसकेको छ। उसले आफ्ना मित्र शक्तिहरूलाई पनि ह्वावेईका उत्पादन प्रयोग नगर्न भनेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी (छन्) सञ्जालहरूमा ह्वावेईका उत्पादनहरूको प्रयोग रोकिसकेका छन्।

ह्वावेईले चाहिँ अमेरिकाको आरोपहरूको कडा प्रतिवाद गर्दै आएको छ। यसैबीच ह्वावेईका अध्यक्ष लियाङ ह्वाले मङ्गलवार लण्डनमा भएको एक बैठकमा आफ्नो कम्पनी विभिन्न सरकारहरूसँग “गुप्तचरी वा जासुसी नगर्ने सम्झौताहरू गर्न“ तयार रहेको बताएका छन्।