अख्तियारले छानबिन गरिरहेकाे हायात होटलकाे सेवा बन्द


काठमाडौँ— सरकारी लगानी समेत रहेको राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको घोषणा गरिएको छ।

होटलमा कार्यरत मजदूरहरुको आन्दोलनका कारण ६ दिनदेखि सेवा प्रभावित भएकोमा यही निहुँमा होटल नै बन्द गर्न खोजिएको टिप्पणी हुन थालेको छ। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ । बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ।

तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि ‘गैरकानुनी’ हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम–कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको उनको पत्रमा उल्लेख छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को ३(१) विपरित कर्मचारीहरुले आन्दोलन गरेको कम्पनी सचिव कर्णले बताएका छन् । हायात रिजेन्सीसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न मागहरु राखी अन्य कर्मचारीहरुलाई पनि जर्बजस्ती साथमा लिएको उनको दावी छ ।

होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

सरकारी सेयर गायब बनाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन गरिरहेकाे छ।

हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० शय्याको होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।

बौद्धको टुसाल चोकमा तारागाउँ विकास समितिको स्वामित्वमा ३०४ रोपनी जग्गा र घर थियो । यो समिति सरकार मातहत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement