आईजीपी परिर्वतनको खेलमा सरकार,यस्तो छ चन्दलाई बनाउने तयारी ?


काठमाडौं– सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नाममा हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ।

 

 

प्रधानमन्त्री देउवाले गृहमन्त्री जनार्दन शर्मालाई प्रहरी महानिरीक्षक परिर्वतनका लागि तयारी गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो। प्रधानमन्त्री देउवाले प्रहरी महानिरीक्षक आर्याललाई पदबाट राजीनामा दिन र राजीनामा पछि कुनै एक संवैधानिक आयोग वा विदेशस्थित कूटनीतिक नियोगमा नियुक्ति दिने बताउनु भए पनि प्रहरी महानिरीक्षक अर्यालले भने प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेपछि हटाउने तयारी गरेको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए।

 

 

प्रहरी महानिरीक्षक अर्यालले आफूले राजीनामा नदिने, पदबाट सरकारले बर्खास्त गरे कानुनी उपचारमा जाने मनस्थिति बनाएको ती सुरक्षा अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा र हाल महानगरीय आयुक्त कार्यालयमा कार्यरत एआईजी चन्द पटक पटक भेट भएको र प्रधानमन्त्रीले जुनसुकै हालतमा आईजीपी बनाउने आश्वासन दिएपछि चन्द अहिले आफ्ना निकटका प्रहरी अधिकृतहरूलाई रानीपोखरी बोलाएर भावी योजना बनाउन व्यस्त रहेको पनि ती अधिकारीले जानकारी दिए।

 

 

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको महासभामा जानुअघि पनि एआईजी चन्दलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको बताइएको छ। प्रधानमन्त्री देउवाले दशैंको बिदामा नै प्रहरी प्रमुख परिर्वतन गर्ने तयारी गरेको पनि ती अधिकारीले जानकारी दिए।

 

 

गृहमन्त्री शर्माले पटक पटक विवादमा परेको प्रहरी संगठनमा हस्तक्षेप गर्दा त्यसको सन्देश राम्रो नजाने भएकाले त्यसमा आफू सहमत हुन नसक्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवासमा बोलाएर आईजीपी परिर्वतनका बारेमा जानकारी गराएका थिए।

 

 

 

‘माओवादी अध्यक्ष दाहालले गृहमन्त्री शर्मालाई प्रधानमन्त्रीको सन्देश सुनाएपछि गृहमन्त्री पनि अहिले चुप बस्नुभएको छ।’ –ती अधिकारीले भने। सरकारले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्नुभएका आईजीपी अर्यालले पनि आफ्ना निकटका उच्च प्रहरी अधिकृतसँग सल्लाह गर्नुभएको छ।

 

 
यसअघि सरकारले आईजीपीमा नियुक्त गरेका एआईजी चन्दलाई अदालतले हटाइदिएपछि सरकारले बाध्य भएर अर्याललाई आईजीपी नियुक्त गरेको थियो। अदालतले वरीयतालाई ख्याल गरेर आईजीपी नियुक्त गर्न सरकारको नाममा आदेश दिएको थियो।

 

 

सरकारले अहिले चन्दलाई आईजीपीमा नियुक्त गरे पनि सरकारको निर्णय विवादमुक्त नहुने अवस्था रहेको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले वरीयता निर्धारण गरेको थियो ।

 

 

 

वरीयतामा १ नम्बरमा नवराज सिलवाल, २ नम्बरमा प्रकाश अर्याल, ३ नम्बरमा बमबहादुर भण्डारी र ४ नम्बरमा जयबहादुर चन्द रहेको फैसलासमेत गरेको थियो। सरकारले चन्दलाई आईजीपी नियुक्त गरे पनि अदालतमा भण्डारीले मुद्दा हाले फेरि चन्द पद धरापमा पर्ने अवस्था देखिन्छ ।

 

 

सरकारले प्रहरी नियमावली परिर्वतन गरेर ७ प्रदेशमा ७ जना आईजीपी र केन्द्रमा प्रहरी महानिर्देशकको व्यवस्था गर्ने र अहिले आईजीपीमा नियुक्त हुने चन्दलाई नै पछि प्रहरी महानिर्देशक बनाउने तयारीसमेत गरेको छ । आजको समाचारपत्रमा दिपक रिजालले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement