काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सोमबारका लागि पेसी तोकिएको छ ।
सरकारले गत १८ वैशाखमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि अर्का प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा यसअघि २६ असारका लागि सुनुवाई तोकिएपनि सो दिन बकर इदको सार्वजनिक बिदा परेकाले पेसी एक दिन पर सरेको हो । कानुनी व्यवस्थाअनुसार पेसी तोकिएको दिनमा सार्वजनिक विदा परे, त्यसको अर्को दिन मात्रै पेसी तोक्ने व्यवस्था छ ।
तर, यो प्रकरणमा भने सर्वोच्चले शुक्रबार नै पेसी सारेको हो । सर्वोच्चका प्रवक्ता बिमल पौडेलले यो रिट २७ गतेको पेसीमा चढेको जानकारी दिए । पहिलो पटक २२ वैशाखमा सुनुवाई सुरु भएको सो रिटमाथिको बहस यही असार १९ मा सकिएको छ ।
रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आईजीपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन् । अब फैसला आउन मात्र बाँकी छ ।




प्रतिक्रिया