आईजी ज्ञवालीले निकालेको पहिलो बढुवा सूची विवादरहित, चलखेलको अन्त्य होला ?


काठमाडौं – नेपाल प्रहरीभित्र बढुवा र सरुवाका विषय पटक–पटक विवादमा आउने गर्छन् । मुख्य जिम्मेवारीमा रहने भएकाले माथिल्लो दर्जाका बढुवा प्रहरी संगठनभित्र चलखेल र विवाद हुने गर्छ ।

बिहीबार साँझ प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिश भए ।
यो बढुवा सिफारिसमा दुई वटा कुरा महत्वपूर्ण थियो – एउटा – यो सूची नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली आएपछि पहिलो हो । दोस्रो – एआईजी बढुवा हुनेमध्ये नै भोलि प्रहरी नेतृत्वमा पुग्न आईजीपी हुने हो ।

प्रहरी नेतृत्वमा पुग्न महत्वपूर्ण मानिने एआईजी बढुवाको दौडमा डीआईजी तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालले बाजी मारेका छन् । बढुवा सिफारिश समितिले तीनै जनाको नाम सिफारिश गरेको छ । एआईजी बढुवाका लागि तारणी लम्साल, सूर्य उपाध्याय, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की, निरज शाही र विश्वराज पोखरेल लगायत प्रतिस्पर्धामा थिए ।

प्रहरी नेतृत्वमा पुग्न एआईजी बढुवादेखि नै चलखेल हुने गरेको प्रहरी संगठनको इतिहासबीच आईजीपी ज्ञवालीले बढुवालाई विवादरहित बनाएका छन् । ज्येष्ठता र वरिष्ठताका आधारमा बढुवा सिफारिश गरिएपछि कुनै विवाद आएन । प्रहरी संगठनभित्र हुने राजनीतिक, व्यक्तिगत चलखेल र भनसुनले बढुवा सिफारिशमा कुनै काम नगरेको चर्चा प्रहरी संगठनभित्र छ ।

ज्ञवालीको नेतृत्वले प्रहरी संगठनमा चलखेललाई निषेध गरेको हो ? संकेत त्यतैतर्फ भएपनि आगामी दिनमा हुने बढुवा सिफारिशलाई समेत हेर्नुपर्ने हुन्छ । एआईजी बढुवा सिफारिशपछि अब आईजीपी ज्ञवालीको काँधमा डीआईजी बढुवाको जिम्मेवारी आएको छ । प्रहरी संगठनमा रिक्त रहेका २२ जना डीआईजीको बढुवाका लागि ३४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दौडमा छन् ।

एसएसपी धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा र रामकृपाल शाह, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक, सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्र्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला बढुवाको प्रतिक्षामा छन् ।

धेरै संख्या भएका कारण पनि डीआईजी बढुवामा आईजीपी ज्ञवालीलाई जटिलता देखिनसक्छ । तर बढुवा सिफारिशलाई विवादरहित बनाउने चुनौती समेत देखिएको छ । ज्ञवाली प्रहरी नेतृत्वमा आएपछि भएको एआईजी बढुवा सिफारिशलाई हेरेर उनले ज्येष्ठता र वरिष्ठतालाई प्राथमिकता दिने चर्चा प्रहरी संगठनभित्र रहेको छ ।

नेपाल प्रहरी नियमावली २०७१ नियम २७ (१)(ख) अनुसार डीआईजीको बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहने समिति हुन्छ । नियम ३० उपनियम (२)(१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्ने प्रावधान छ ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकनवापत ४० अंक, ज्येष्ठतावापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभववापत ८, शैक्षिक योग्यतावापत १०, तालिमवापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीवापत ५, विभूषण (मानपदवी, अलंकार तथा पदक) वापत २, बढुवा समितिले दिने ७.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । सिफारिश समितिको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि बढुवा लागू हुने प्रावधान रहेको छ ।

प्रहरी संगठनमा कार्यक्षमताभन्दा पनि भनसुन र चलखेल बढी हुने गरेका कारण कतिपय अवस्थामा प्रहरीको कार्यक्षमतामा प्रश्न समेत उठ्ने गरेको छ । कार्यसम्पादनका क्रममा प्रहरी अधिकृतहरूबाट गम्भीर खालका त्रुटि समेत हुने गरेका छन् । तसर्थ प्रहरी अधिकृतहरूको कार्यक्षमतालाई प्राथमिकतामा राखेर जिम्मेवारी तोक्ने र बढुवा गर्ने गर्दा प्रहरी नेतृत्व समेत सफल हुने सन्देशलाई स्थापित गर्ने अवसर ज्ञवालीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement