डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान गर्न आईजीपी कार्कीको आग्रह

डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान गर्न आईजीपी कार्कीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका छन् ।

बुधबार एक भिडियो सार्वजनिक गर्दै आईजीपी कार्कीले भोलि हुने निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको बताएका हुन् ।

चारवटै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेको उनले जानकारी दिए ।

निर्वाचनको दिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने र कुनै पनि अवाञ्छित गतिविधि गर्नेलाई छुट नदिइने कार्कीले स्पष्ट पारेका छन्।

मतदान केन्द्रमा कसैलाई धम्काउने, डरत्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा तत्काल कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार खटिएका सुरक्षाकर्मीलाई दिइएको उनले बताए ।

उनले निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको बताए ।

आईजीपी कार्कीले लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले आम मतदातालाई अपिल गर्दै आईजीपी कार्कीले कुनै पनि डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।