काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नवीन सोच, सिर्जनशीलता र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित निर्देशन कार्यक्रममा आईजीपी कार्कीले प्रहरी कर्मचारीले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदार तथा निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताए। उनले सरुवा भएका अधिकृतहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।
आईजीपी कार्कीले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रविधिमैत्री, पारदर्शी, समयसापेक्ष र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने उल्लेख गरे। संगठनका नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमार्फत सांगठनिक लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारी सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
उनले चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासलाई केन्द्रमा राख्न, प्रहरी कर्मचारीको क्षमता विकास गर्न तथा समस्या र गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न निर्देशन दिए।
साथै, विगतका कमजोरीहरूको समीक्षा गर्दै आवश्यक योजना र नीति निर्माण गरी आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन र विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर तथा कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि सरुवा भएका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा र समसामयिक विषयमा निर्देशन दिए।




प्रतिक्रिया