आइजीपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली किन पुग्दैछन् कञ्चनपुर ?

आइजीपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली किन पुग्दैछन् कञ्चनपुर ?


काठमाडौं – कञ्चनपुरकी १३ वर्षिय नावालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल(आइजिपी) केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहितको टोली कञ्चनपुर तर्फ लागेको छ ।

निर्मला हत्याको ५ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैपनि सफलता हात पार्न नसकिरहेको अवस्थामा प्रहरी प्रमुखसहितको टोली कञ्चनपुरतर्फ लागेको हो। टोली मंगलबार बेलुका बुटवलमा बास बसी बुधबार बिहान कञ्चनपुरका लागि निस्केको स्रोतले बतायो। टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली सडकमार्ग भएर कञ्चनपुर गएको प्रहरी श्रोतले जनाएको छ । तर कञ्चनपुर प्रहरीका प्रवक्ता कृष्णराज ओझाले उक्त टोली कञ्चनपुर आइनसकेको बताएका छन् ।

कञ्चनपुर पुगेर टोलीले निर्मलाको हत्या भएको स्थानको समेत अवलोकन गर्ने बताइएको छ। यसअघि शंकाष्पद मानी पक्राउ गरिएका तथा अनुसन्धानमा तानिएकाहरुमाथि पनि पुनः नयाँ ढंगबाट विश्लेषण गरिने छ। ‘घटनामा शंकाष्पद मानिएका आरोपीहरुको घटनापछिको चालचलन तथा दैनिकीलाई समेत प्रहरीले नियालिरहेको छ, स्थलगत अवलोकनपछि घटनामा उनीहरुको सम्बन्ध रहनसक्नेरनसक्ने बारे पनि विश्लेषण हुनेछ,’ स्रोतले भन्यो।

निर्मलाको हत्या भएको स्थानबाट नजिकै रहेको नेपाली सेनाको ब्यारेकका १६ जना सेनामाथि पनि अनुसन्धान गर्न सकिने नसकिने विषयमा पनि टोलीले आवश्यक चासो दिनेछ। निर्मलाको हत्या भएको दिन १६ जना सेना एकैपटक ब्यारेकबाट बाहिर निस्किएका थिए।