काठमाण्डु– नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै खापुङले सकेको राम्रो गर्ने बताएका छन् । उनले भने ‘सकेको राम्रो गर्छु, तर नराम्रो गर्नेछैन।’
तेह्रथुमको गाउँबाट यात्रा सुरु गरी प्रहरी प्रमुखसम्मको जिम्मेवारी पाएको उनले स्मरण गर्दै प्रहरी सेवाप्रति आफ्नो समर्पणलाई जोड दिए। ‘स्वेच्छाले रोजेर प्रहरी बनेको मान्छे हुँ, सीमितता थाहा छ, तर सकल दर्जाको हितका लागि काम गर्नेछु ।’ आईजीपी खापुङले भने ।
उनले अपराध अनुसन्धानलाई प्रहरीको ठूलो चुनौतीका रूपमा चित्रण गर्दै एआई, साइबर अपराध, क्रिप्टो र अन्य अन्तर्राष्ट्रिय आपराधिक गतिविधि नियन्त्रण गर्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी संगठन समयको आवश्यकता भएको उनको भनाइ थियो।
हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन्।




प्रतिक्रिया