आईजीपी शैलेश थापा क्षेत्रीले गरे मौलो पूजा


काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा गरेका छन् । चैते दशैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालयभित्रको सशस्त्र प्रहरी गण नम्बर–१ मा आईजीपी थापाले क्षेत्रीले बली पूजा तथा निसानमा पञ्जा छाप लगाएर मौलो पुजा सम्पन्न गरेका हुन् ।

मौलो पुजाको अवसरमा आईजीपी थापाले विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु सहभागी थिए ।

पूजा बिसर्जनपछि निशान मूलकोत हनुमानढोकाको लागि पठाइएको छ । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement