अन्तरदेशीय अपराधको प्रभाव रोक्न नेपाल प्रहरी सदैव तयारः आईजीपी क्षेत्री


काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री (आईजीपी)ले अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मित्रराष्ट्र चीनमा शुरु भएको ‘पाँचौं लियनयुनगाङ्ग फोरम’लाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक क्षेत्रीले अन्तरदेशीय अपराधको प्रभाव रोक्न नेपाल प्रहरी सदैव तयार रहेको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

यस्तो फोरमको आयोजना र छलफलबाट विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुने धारणा समेत व्यक्त गरे ।

उनले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न यो फोरमको आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।

बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरुले भिडियो कन्फेरेन्समार्फत सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement