आईजीपी थापाले गरे प्रहरी अस्पतालको निरीक्षण

आईजीपी थापाले गरे प्रहरी अस्पतालको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेका छन् ।

शुक्रबार प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्न निर्देशन दिए ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति वोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापाले अस्पतालमा देखिएका समस्याको समाधानका लागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीहरुले आफूमा भएका क्षमतालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्ने उनले बताए । समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरुले अस्पतालमा आउने विरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिए ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताए ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक थापाले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरे ।

साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिए ।

कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम प्रविधि र पद्धतिलाई अङगिकार गरी स्वस्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताइन् ।

नेपाल प्रहरी अस्पतालको एक मात्र उद्देश्य गुणस्तरीय उपचार सेवा प्रदान गर्ने रहेको बताउँदै उनले अस्पताललाई सरकारी अस्पतालमध्येको उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको बताइन् ।

अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. रामकृष्ण राज भण्डारीले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार यादवले नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य उपचार सेवा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी धिकृतहरुको उपस्थिति रहेको थियो ।